• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

कोशी प्रदेश पर्यटन वर्ष २०८२: विजयपुर धार्मिक पर्यटकको आकर्षण केन्द्र

रोहित बस्नेत (डेविट)
कोशी प्रदेश सरकारले पर्यटन प्रर्वद्धन लागि २०८२ साललाई “पर्यटन वर्ष २०८२” का रूपमा घोषणा गरेको छ । ‘०८२ का ८२ गन्तव्य’ भन्ने नाराका साथ हरेक जिल्लामा एक प्रमुख गन्तव्य प्रर्वद्धन गरिँदैछ । ती ८२ गन्तव्यमा धरान उपमहानगरपालिका १४ नं. वडाको विजयपुर विशेष महत्वको साथ राखिएको छ र यस अभियानमा विशेष धार्मिक, सांस्कृतिक र ऐतिहासिक गन्तव्यको रूपमा विजयपुर स्थापित हुँदैछ । 

धरानको मुटु मानिने विजयपुर, जहाँ किराँतकालदेखि नै धार्मिक आस्था, शक्तिपूजा, शिवभक्ति र मौलिक परम्पराहरू जीवित छन् । यही क्षेत्रमा अवस्थित दन्तकाली शक्तिपीठ, पिण्डेश्वर महादेव मन्दिर र बुढासुब्बा मन्दिरलाई समेटेर जाने हो भने धरानको मात्र होइन, सिंगो प्रदेशको पर्यटन सम्भावनाको मेरुदण्ड बन्न सक्छ ।

पिण्डेश्वर महादेवधामः अमृतका प्रतीक शिव
धरान-१४ विजयपुरमा रहेको पिण्डेश्वर महादेव मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व अत्यन्त गहिरो छ । यहाँको शिवलिङ्गलाई “अमृतपिण्ड” भनिन्छ । पौराणिक मान्यताअनुसार, समुद्र मन्थनका बेला अमृत झरेको पिण्ड यहाँ रहेको विश्वास छ ।

यहाँ दैनिक रुद्राभिषेक, रुद्री पाठ, व्रतबन्ध, पिण्डदान, नामकरण, विवाहजस्ता कर्मकाण्ड गरिन्छ । विशेषगरी साउनको सोमबार, शिवरात्रि, हरितालिका तीज र बोलबम यात्राको समयमा हजारौँ श्रद्धालुहरू यहाँ आउने गर्छन् । यहाँ जल चढाउने चलन अत्यन्तै लोकप्रिय छ, चतरा स्थित सप्तकोशीमा खाली खुट्टामा गएर जल ल्याई अर्पण गर्ने चलन रहँदै आएको छ । भारत र नेपालका विभिन्न स्थानबाट धार्मिक पर्यटकहरू यहाँ दर्शन गर्न आउने क्रम बढ्दो छ । त्यही परम्पराको पुजाको निरन्तरता पुजारी पोखरेल परिवारबाट नै हुँदै आएको छ । यो गठी संस्थाबाट सञ्चालित धार्मिक स्थल हो ।

पिण्डेश्वर मन्दिर परिसर आर्कषक मझौले पोखरी, जहाँ खडा गरिएकी सरस्वती देवीको प्रतिक पौराणिक, शास्त्र अनुरुप खडा गरिएको छ । परिसर स्वच्छ, शान्त र विस्तारित छ । स्थानीय संघ संस्थाहरूको सक्रियताले मन्दिरको संरक्षण मनासिव छ ।

दन्तकाली मन्दिर: शक्तिपूजाको मुहान 
धरान-१४ विजयपुरमै  दन्तकाली मन्दिरको धार्मिक महत्व अत्यन्त गहिरो छ । स्वस्थानी व्रतकथाको सन्दर्भमा सतीदेवीको शरीरका अङ्गहरू विभिन्न स्थानमा खसेर शक्तिपीठहरू बनेको भनाइ छ । यही सन्दर्भमा दन्तकाली मन्दिर सतीको दाँत पतन भएको स्थल भनेर श्रद्धापूर्वक पुजिन्छ ।

यहाँको मन्दिर तीन तहको छाना भएको तलेशैलीमा बनेको छ । त्यसले पहाडको काखमा उभिएको भव्य धार्मिक आभास दिने गर्छ । मन्दिरको पछाडिबाट तराईको समथर फाँट र चारकोशे झाडी देखिन्छ भने अगाडिबाट सुनसरी र सप्तरीका हरियाली क्षेत्र र सप्तकोशी नदी बहेको खुला रुपमा देख्न सकिन्छ ।

सालको ठूला रुखबीचबाट सोझै दन्तकाली जाने ढुंगे सिँढी चढ्दा, श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा मिल्ने जनविश्वास छ । यहाँ दशैंको नवरात्री, माघे संक्रान्ति, तीज, चैते दशैंमा विशेष पूजाआजा गरिन्छ । सेनवंशीय शासकहरूको यो मन्दिरलाई आफ्नो इष्टदेवीको रूपमा पुज्ने चलन थियो । आज पनि त्यही परम्पराको निरन्तरता पुजारी खनाल परिवारबाट आठौँ पुस्तासम्म आइपुगेको छ ।

बुढासुब्बा मन्दिर: प्रेम, श्रद्धा र किंवदन्तीको संगम
धरान-१४ विजयपुरमै अवस्थित बुढासुब्बा मन्दिर आस्थाको मात्र होइन, रहस्यमय किंवदन्तीहरूको संगम पनि हो । ‘किरात धर्माबलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन् ।  ‘हिन्दू धर्मावलम्बीहरुले बुढासुब्बालाई किरातेश्वर महादेवका रुपमा मानेको छन् ।

अर्कोतर्फ, कतिपयले बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । यसलाई कतिपयले महाभारतकालीन धर्नुविद्याका पारखी एकलव्यको समाधिको कुरा गर्छन् । बुढासुब्बा परिसरमा रहेका बाँसका टुप्पा नबढ्ने जनश्रुति अनुसार आज पनि जीवित छ ।

विशेषगरी प्रेम गर्ने जोडीहरू यो मन्दिरमा पूजा गर्छन् । यहाँको बाँसको छेउमा टिका लगाएर, धागो बाँसमा बाँधिदिएर आप्mनो मनोकामना माग्ने बानी अहिले पनि छ । भाले, रक्सी, अण्डा, सुपारी चढाउने रीत परम्परा अनुसार चलिरहेको छ । परापूर्वकालदेखि पुजारी आले मगर परिवारले मन्दिरको सेवा गर्दै आएको छन् ।

यि तिनै मन्दिरमा विगत परपूर्वकाल देखि नै स्थानियहरु भने धार्मिक वातावरणमा आकर्षित छन् । 

संरक्षण र प्रर्वद्धनको खाँचो
विजयपुर क्षेत्रका यी तीन धार्मिक स्थलः दन्तकाली, पिण्डेश्वर र बुढासुब्बामा जाने सडक विजयपुर चौक सम्म मध्यम किसिमको रहेको छ । विजयपुर चौकबाट पिण्डेश्वर महादेव मन्दिर जाने सडकको अवस्था नाजुक छ । अर्कोतिर यी मन्दिरहरू बीचको दूरी पैदल यात्रा योग्य छ । त्यसको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिएमा धार्मिक यात्रालाई पैदल यात्रा शैलीमा पुनर्जीवित गर्न सक्छ ।

अन्तर्राष्ट्रिय धार्मिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनाउनको लागि राम्रा गुणस्तरिय साहाकारी खानको राम्रो व्यवस्था भएको होम स्टेहरु अर्थात होटलहरु पनि सञ्चालनमा ल्याउन जरुरी छ । मन्दिर परिसरमा एउटै पनि धर्मशाला छैनन्, उत्कृष्ट धर्मशाला निर्माणमा राज्यको ध्यान जानुपर्ने देखिन्छ । ऐतिहासिक महत्व अनुसार आवश्यक लगानी भने अझै भएको छैन ।

धार्मिक स्थलहरूको भौतिक पूर्वाधार सुधार, डिजिटल प्रर्वद्धन 'क्यूआर' कोडमार्फत जानकारी, मल्टीभाषिक सूचना बोर्ड आदिको व्यवस्था गरिनुपर्छ ।

अन्त्यमा विजयपुर क्षेत्र केवल धार्मिक स्थल होइन, यो इतिहास, परम्परा र संस्कृतिको संगम हो । यदि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर यी स्थलहरूको संरक्षण र प्रर्वद्धन गर्न सफल भए, कोशी प्रदेशको पर्यटन वर्ष २०८२ मात्र होइन, सिङ्गो देशकै धार्मिक पर्यटन क्षेत्रको इतिहासमा विजयपुर एक अनुपम गन्तव्यका रूपमा स्थापित हुनसक्छ ।

 

प्रतिकृया दिनुहोस

२०८२ को प्रतिनिधिसभा निर्वाचन : नेपाली राजनीतिका लागि जनताको नयाँ सन्देश

# बिचार/अन्तर्वाता

रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खबर / २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन मार्फत जनताले नेपालको पुराना राजनीतिक दललाई धेरै महत्वपूर्ण

म भूगोल र मन जोड्न आएको उम्मेद्वार हुँ: मनोज भट्टराई

# बिचार/अन्तर्वाता

गणतन्त्र खबर / सुनसरी क्षेत्र नं. १ यतिबेला प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोलमा छ। फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि

मनोजः भूगोल र मन जोड्न आएको मान्छे

# बिचार/अन्तर्वाता

गणतन्त्र खबर / धरान ।  मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलिहोचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट ।