• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

२०८२ को प्रतिनिधिसभा निर्वाचन : नेपाली राजनीतिका लागि जनताको नयाँ सन्देश

रोहित कुमार बस्नेत (डेविट)

गणतन्त्र खबर / २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन मार्फत जनताले नेपालको पुराना राजनीतिक दललाई धेरै महत्वपूर्ण सन्देश दिएका छन् । यो निर्वाचन केवल सांसद छान्ने प्रक्रिया मात्र थिएन, यसले जनताको मनस्थिति, अपेक्षा र असन्तुष्टि पनि स्पष्ट रूपमा देखाएको छ । धेरै वर्षदेखि देशको राजनीति चलाइरहेका पुराना दलहरूप्रति जनताको विश्वास गुम्दै गएको र नयाँ विकल्पप्रति आकर्षण ह्वात्तै बढेको यस चुनाव मार्फत जनताले आफ्नो अभिमतद्वारा देखाएका छन् । जनताले अब केवल पुरानो शैलीको राजनीति होइन, परिणाम दिने राजनीति चाहेका छन् भन्ने कुरा यस निर्वाचनले देखाएको छ ।

२०७२ सालको संविधानले नेपालमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली लागू गरेको छ । पहिले धेरैले यस्तो प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत दिन सक्दैन भन्ने तर्क गर्ने गरेका थिए राजनैतिक दल, तिनका नेतृत्व र राजनैतिक विश्लेषकहरुले तर यस निर्वाचनले त्यो धारणा गलत साबित गरिदिएको छ । जनताले कुनै दललाई स्पष्ट रूपमा विश्वास गरे भने यस्तो प्रणालीमा पनि ठूलो जनादेश दिन सक्छन् भन्ने कुरा यस परिणामले देखाएको छ । यसले प्रणालीभन्दा पनि दलको काम, नीति र जनतासँगको सम्बन्ध महत्वपूर्ण हुने कुरा स्पष्ट गरेको छ ।

नेपालका पुराना राजनीतिक दलहरूले लामो समयदेखि आफ्ना ऐतिहासिक उपलब्धिहरूलाई जोड दिँदै आएका छन् । नेपाली कांग्रेसले राणा शासन अन्त्य र २०४६ सालको जनआन्दोलनको इतिहासलाई आफ्नो उपलब्धि मान्दै आएको छ । वामपन्थी दलहरूले पञ्चायत अन्त्य र लोकतान्त्रिक आन्दोलनको योगदानलाई जोड दिएका छन् । माओवादी आन्दोलनले जनयुद्ध र गणतन्त्र स्थापनालाई आफ्नो मुख्य राजनीतिक उपलब्धि भन्दै आएको थियो । यी सबै ऐतिहासिक उपलब्धि महत्वपूर्ण भए पनि जनताको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसक्दा ती उपलब्धिहरू मात्रले जनताको विश्वास कायम राख्न नसक्ने अवस्था आएको देखिन्छ । जनताले अब इतिहास मात्र होइन, वर्तमानमा हुने काम र भविष्यको योजना हेर्न थालेका छन् ।

यस निर्वाचनले अर्को महत्वपूर्ण कुरा पनि देखाएको छ । नेपालमा लामो समयदेखि पैसा खर्च गरेर चुनाव जित्न सकिन्छ भन्ने धारणा बलियो थियो । धेरै दलहरूले पनि आर्थिक रूपमा बलिया उम्मेदवारलाई प्राथमिकता दिने गरेका थिए । तर यसपटक केही उद्योगपति र आर्थिक रूपमा शक्तिशाली उम्मेदवारहरू समेत पराजित भएका छन् । यसले देखाउँछ कि अहिलेका मतदाताले पैसा भन्दा पनि उम्मेदवारको छवि, काम गर्ने क्षमता र जनताको पक्षमा बोल्ने साहसलाई महत्व दिन थालेका छन् ।

यस चुनावले राजनीतिक दलभित्र टिकट वितरणको विषयलाई पनि उजागर गरेको छ । विगतका चुनावहरूमा टिकट पाउनका लागि आफ्नै पार्टी र नेतृत्वलाई पैसा पेल्नुपर्ने जस्ता अदृश्य गुनासोहरू बारम्बार आउने गरेका थिए । तर यसपटक जनताको बढ्दो सचेतना र सामाजिक सञ्जालको प्रभावका कारण दलहरूलाई यस्तो व्यवहार गर्न कठिन भएको देखिन्छ । जनताले अब दलभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्र पनि खोज्न थालेका छन् ।

यस निर्वाचनको परिणामले पुराना राजनीतिक नेतृत्वप्रति जनताको असन्तुष्टि पनि स्पष्ट देखाएको छ । धेरै वर्षदेखि सत्तामा रहेका दलहरूले स्थिर सरकार, सुशासन, रोजगारी र आर्थिक विकासका क्षेत्रमा अपेक्षित काम गर्न नसकेको आरोप लाग्दै आएको थियो । त्यसैले मतदाताले नयाँ विकल्प खोज्ने प्रयास गरेका छन् । यसले नेपाली राजनीतिमा नयाँ नेतृत्व र नयाँ सोचको आवश्यकता बढेको देखाउँछ । 

नेपालमा केही समयदेखि राजतन्त्र पुनःस्थापनाको बहस पनि उठ्दै आएको थियो । केही समूहहरूले लोकतन्त्र असफल भएको भन्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठाएका थिए । तर निर्वाचन परिणामले देखाएको छ कि जनताले लोकतान्त्रिक व्यवस्थालाई नै स्वीकार गरेका छन् । जनताले व्यवस्था परिवर्तन होइन, व्यवस्था भित्र सुधार र आफ्नो जीवनमा परिवर्तन चाहेका छन् भन्ने कुरा स्पष्ट भएको छ ।

यस निर्वाचनले पहिचानको राजनीतिलाई पनि केही हदसम्म कमजोर बनाएको देखिन्छ । केही प्रदेशहरूमा पहिचानका आधारमा आन्दोलन भएका थिए । तर चुनावी परिणामले देखाएको छ कि मतदाताको प्राथमिकता अब विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासन जस्ता विषय बनेका छन् । यसले देखाउँछ कि नेपाली मतदाताले अब भावनात्मक नाराभन्दा व्यवहारिक कामलाई बढी महत्व दिन थालेका छन् ।

यस चुनावले युवाको भूमिकालाई पनि महत्वपूर्ण बनाएको छ । अहिलेको ठूलो मतदाता वर्ग युवा पुस्ता हो । यो पुस्ताले सामाजिक सञ्जाल, सूचना र विभिन्न अनुभवका आधारमा आफ्नो राजनीतिक धारणा बनाउने गरेको छ । उनीहरूले पुराना शैलीका राजनीतिक भाषणभन्दा पनि काम गर्ने नेतृत्व खोजिरहेका छन् ।

समग्रमा हेर्दा २०८२ को प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिलाई स्पष्ट सन्देश दिएको छ । अब केवल इतिहास, आन्दोलनको कथा वा राजनीतिक नाराले मात्र जनताको विश्वास जित्न सकिँदैन । जनताले राम्रो शासन, रोजगारीको अवसर, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास चाहेका छन् । त्यसैले राजनीतिक दलहरूले यदि जनताको जीवनमा परिवर्तन ल्याउने काम गर्न सकेनन् भने भविष्यमा अझ ठूलो राजनीतिक परिवर्तन देखिन सक्छ ।

अन्ततः जनताले यो निर्वाचनमार्फत दिएको मुख्य सन्देश यही हो कि नेपालमा अहिलेको व्यवस्था नै ठीक छ, तर जनताको अवस्था सुधारिनुपर्छ । जनताले परिवर्तित व्यवस्थालाई सहर्ष स्वीकारेका छन् सँगै आफ्नो जीवनस्तर सुधार हुने राजनीति चाहेका हुन् । 

प्रतिकृया दिनुहोस

म भूगोल र मन जोड्न आएको उम्मेद्वार हुँ: मनोज भट्टराई

# बिचार/अन्तर्वाता

गणतन्त्र खबर / सुनसरी क्षेत्र नं. १ यतिबेला प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोलमा छ। फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि

मनोजः भूगोल र मन जोड्न आएको मान्छे

# बिचार/अन्तर्वाता

गणतन्त्र खबर / धरान ।  मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलिहोचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२: विजयपुर धार्मिक पर्यटकको आकर्षण केन्द्र

# बिचार/अन्तर्वाता

रोहित बस्नेत (डेविट) कोशी प्रदेश सरकारले पर्यटन प्रर्वद्धन लागि २०८२ साललाई “पर्यटन वर्ष २०८२” का रूपमा घोषणा गरेको छ । ‘०८२ का ८२ गन्तव्य’