• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

पर्यटन केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको बोराबाँध (भिडियो सहित)

रोहित कुमार बस्नेत (डेविट)

गणतन्त्र खबर / सप्तकोशी नदीको नाम सुन्नासाथ धेरैलाई बाढी, कटान र विस्थापनको सम्झना आउँछ । बषौंदेखि यस नदीले दुःख पनि दिने गरेको छ । तर यही सप्तकोशीले अहिले सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रभित्र रहेको बोराबाँधमा नयाँ आशा र सम्भावनाको कथा लेख्न थालेको आभाष हुन्छ । केही समयअघिसम्म सामान्य काँस बगर देखिने बोराबाँध आज हजारौँ मानिस सूर्यास्त हेर्न पुग्ने नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।

दिनको ४/५ बज्न थालेपछि बोराबाँधको दृश्य बदलिन्छ । आकाशमा अस्ताउँदै गरेको सूर्य, सप्तकोशीको कञ्चन पानीमाथि खेल्ने रंग, सेतो बालुवाको तह र खुला क्षितिजले यहाँ आउने जो कोहीलाई रोक्न बाध्य बनाउँछ । यही दृश्य सामाजिक सञ्जालमार्फत फैलिँदै जाँदा बोराबाँध सुनसरीमै सीमित रहेन, नेपाल र भारतसम्म चिनिन थाल्यो ।

यस परिवर्तनको पछाडि सञ्चारकर्मी भिषण राईको ४/५ वर्षदेखिको निरन्तर प्रयास जोडिएको छ ।  उनले ‘नानु खबर’ नामक सामाजिक सञ्जालमार्फत सप्तकोशी किनार र बोराबाँध क्षेत्रका भिडियो तथा तस्बिरहरू नियमित रूपमा सार्वजनिक गर्दै आएका थिए । “आफ्नो गाउँठाउँ आफूले मात्र होइन, अरूले पनि देख्न पाउनुपर्छ भन्ने लाग्यो,” राई भन्छन्, “सप्तकोशीलाई सधैँ अभिशापको रूपमा मात्रै नहेरी अब अवसरको रूपमा हेर्नुपर्छ भनेर भिडियो बनाउँदै पोस्ट गर्दै आएको हुँ ।” उनका अनुसार कार्तिक २१ गते खिचिएको सूर्यास्तको भिडियो पोस्ट गरेपछि बोराबाँधप्रति आमचासो एकाएक बढ्यो ।

सुरुमा केही दर्जन मानिस मात्र पुगेको बोराबाँधमा अहिले दैनिक सयौँ र सार्वजनिक बिदामा हजारौँ पर्यटक पुग्ने गरेका छन् । सुनसरी, कोशी प्रदेशका विभिन्न जिल्ला, नेपालका अन्य भाग र भारतबाट समेत मानिसहरू यहाँ आउन थालेका छन् । “अब त सूर्यास्त हेर्न बोराबाँध जानुपर्छ भन्ने मानक नै बस्न थालेको छ,” राई भन्छन्, “जसरी सूर्योदय हेर्न श्रीअन्तु चिनिन्छ, त्यसरी नै सूर्यास्तका लागि बोराबाँध ।”

बोराबाँध अब सुर्यस्त हेर्ने ठाउँ मात्र होइन, अनुभव गर्ने गन्तव्य बनेको छ । सप्तकोशी नदीमा जेटबोट यात्रा, काठको डुङ्गामा नदी पार गर्ने अनुभव, घोडचढी र बालुवामा कुद्ने गाडीले यहाँ आउने पर्यटकलाई थप रमाइलो दिएको छ । जेटबोटहरू समिति मार्फत सञ्चालनमा छन् । दर्ता, बीमा तथा लाइफ ज्याकेटसहित चलाइएका छन् । दुई महिनाको अवधिमा कुनै गम्भीर दुर्घटना नभएको समितिको दाबी छ ।

स्थानीयस्तरमा बनेको बोराबाँध पर्यटन प्रवर्द्धन समितिले सीमित स्रोतका बाबजुद आधारभूत व्यवस्थापनमा ध्यान दिएको छ । समितिका अध्यक्ष बसन्त राईका अनुसार खानेपानी र बिजुलीको विस्तार भइसकेको छ भने अस्थायी शौचालय सञ्चालनमा आएका छन् । “सार्वजनिक बिदामा भीड धेरै हुने भएकाले एकतर्फी आवतजावतको व्यवस्था गरेका छौँ,” उनी भन्छन्, “सबैभन्दा ठूलो चुनौती फोहोर व्यवस्थापन हो, त्यसमा हामी निरन्तर लागिरहेका छौँ।” उनका अनुसार जेटबोटको भाडा प्रति व्यक्ति रु ५०० बाट रु ३०० मा घटाइएको छ भने स्टलहरूमा पनि न्यूनतम मूल्य कायम गरिएको छ ।

आम्दानी सीमित भए पनि हालसम्म स्टल, जेटबोट, डुङ्गा, स्वयंसेवक लगायत विभिन्न माध्यमबाट करिब ८ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । उठेको रकम सरसफाइ, खानेपानी, बिजुली र शौचालय व्यवस्थापनमै खर्च भइरहेको समितिको भनाइ छ ।

सुरक्षाको विषयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुँबरले वडा र नगरपालिकासँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको बताए । “पर्यटकले नदी किनारमा फोटो खिच्दा दुर्घटना हुन सक्ने जोखिम छ, त्यसमा हामी सचेत छौँ,” उनले भने, “मदिरा सेवन गरेर सवारी चलाउने जोखिम बढेकाले बाटो–बाटोमा प्रहरी खटाएका छौँ ।” उनका अनुसार अहिलेसम्म चोरी वा गम्भीर आपराधिक घटना भएको छैन ।

यहाँ आउने पर्यटकहरू पनि बोराबाँधप्रति उत्साहित देखिन्छन् । इनरुवाबाट आएका रोशन रेग्मी टिकटकमा देखेर बोराबाँध आएको बताउँछन् । “यहाँको भीड देखेर यो क्षेत्र अझै विकसित हुन्छ कि भन्ने आशा लागेको छ,” उनी भन्छन् । भोजपुरबाट आएकी मिरादेवी खनालले भने, “सरकारले बस्ने र खाने सुविधा थपिदिए टाढाबाट आउने पर्यटकलाई अझ सहज हुन्थ्यो,” भनी अपेक्षा राखिन् । 

समाचार संकलनकै क्रममा बोराबाँध पुगेका पत्रकार खिलनाथ विश्वकर्माले एउटा पत्रकारको निरन्तर प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुँदो रहेछ भन्ने बोराबाँधले देखाएको बताए । “एक पत्रकार लाग्दा के हुँदो रहेनछ, ४/५ वर्ष लगाएर गरिएको प्रचारको परिणाम आज यहाँ देखिन्छ,” उनले भने ।

यद्यपि बोराबाँधको भविष्य लोकप्रियताले मात्र सुरक्षित हुँदैन । सप्तकोशी नदी स्थिर छैन, धार परिवर्तन गरिरहन्छ । त्यसैले दीर्घकालीन र दिगो पर्यटन विकासका लागि स्थानीय प्रयास मात्र पर्याप्त नहुने स्थानीयको बुझाइ छ । पत्रकार भिषण राई भन्छन्, “अब यो स्थान स्थानीय तहको मात्र विषय रहेन, प्रदेश र संघीय सरकारले पनि योजना बनाएर हेर्नुपर्छ ।”

यदि समयमै सही योजना र सहयोग जुटाउन सकियो भने, बोराबाँध केवल सुनसरीको मात्र होइन, नेपालकै नयाँ पर्यटकीय पहिचान बन्न सक्छ । अभिशाप ठानिएको सप्तकोशी अवसरको नदी बन्दै जाने बोराबाँधको यो लोकप्रियताको दृष्यले स्पष्ट देखाइरहेको छ ।

भिडियो हेर्नुहोस् । 

 

 

प्रतिकृया दिनुहोस

पौष १५ देखि १७ गते ११ औं भेडेटार फुड फेस्टिवल हुने

# पर्यटन

गणतन्त्र खबर / होटल एशोसिएसन भेडेटारले २०६८ साल देखि गर्दै आएको भेडेटार फुड फेस्टिवल यस पटक पनि पौष १५ देखि १७ गते सम्म गर्ने भएको छ । एशोसिएसनले शनिबार

हात्ती करिडोर बनाएर पर्यटन प्रर्वद्धन गर्न सकिन्छ : मुख्यमन्त्री कार्की

# पर्यटन

गणतन्त्र खबर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बाहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । विहीबार पर्यटन वन तथा

कोभिड-19 माहामारीको कारण बन्द रहेको पदयात्रा खुला

# पर्यटन

गणतन्त्र खबर / कोरोना कोभिड-19  को माहामारीको कारण बन्द रहेको पदयात्रा र पर्वताराेहण मापदण्ड लागु गरी खुला गरिएकाे छ । अहिले लकडाउन खुकुलाे बनाइएसँगै