षडानन्द नगरपालिकामा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन
गणतन्त्र खबर / भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले संयुक्त रूपमा बीउ बैंकको शुभारम्भ गरेका हुन् ।
नगरपालिकाले शून्य अवस्थाबाट शुरू गरेर बीउ बैंक स्थापना गरेको हो । एक वर्षअघि नगरपालिकाले आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा विकास भएको नगरप्रमुख उदासले जानकारी दिए । उनले बीउ बैंक परम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय स्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब भएको बताए ।
नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । रैथाने जातका बाली लोप हुँदै गएकाले संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको नगरप्रमुख उदासले बताए । उनका अनुसार किसानबाट बीउ खरिद गरेर आवश्यक कृषकलाई वितरण गरिनेछ । सुन्तला, अलैंची लगायतका बालीको उत्पादन वृद्धि गर्न नगरले विशेष कार्यक्रम अघि बढाएको पनि उनले जानकारी दिए ।
बीउ बैंक स्थापनाका परिकल्पनाकार तथा सामुदायिक बीउ बैंकका सल्लाहकार कृषि विज्ञ पीताम्बर श्रेष्ठले हाल षडानन्द बीउ बैंकमा २७ बालीका ११५ जातका रैथाने तथा लोपोन्मुख बीउ सुरक्षित रहेको बताए । बीउहरूको विस्तृत विवरण ‘रातो किताब’मा अभिलेखीकरण गरिने र कृषकको माग अनुसार कृषि शाखाबाट उपलब्ध गराइने उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार षडानन्द नगरपालिका नेपालमै पहिलो पटक कार्यविधि बनाएर बीउ बैंक स्थापना गर्ने स्थानीय तह बनेको छ । षडानन्दपछि देशका अन्य स्थानीय तहहरूले पनि बीउ बैंक कार्यविधि तयारी सुरु गरेका छन् । नेपालमा करिब ४५ प्रतिशत रैथाने जात लोप भइसकेकाले संरक्षण अत्यावश्यक रहेको उनले बताए । बीउ बैंकमा रहेका बीउहरू राष्ट्रिय जीन बैंकमा समेत पठाइने जानकारी दिँदै उनले नगरलाई कृषि ऐन निर्माण र नियमित कृषि संवाद कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
नगर उपप्रमुख प्रमिला राईले लोप हुन लागेका बालीको संरक्षण तथा कृषि व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताइन् । बीउ बैंकसँगै कृषकका उत्पादनलाई केन्द्रित गरेर कोशेली घर सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिइन् ।
नगरका प्रमुख प्रशासकीय अधिकृत मणिराम तामाङले बीउ बैंकले रैथाने जातको संरक्षणमा ठूलो योगदान दिने बताए । रैथाने बीउ नगरको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनले कृषि सहकारीमार्फत बीउ संकलन गर्दा अझ प्रभावकारी हुने धारणा राखे ।
रैथाने बीउ संरक्षणदेखि कन्दमुल प्रदर्शनीसम्म, ७ जना सम्मानित
यसै अवसरमा नगरपालिकाले एक दिने कन्दमुल प्रदर्शनी पनि आयोजना गरेको थियो। नगरका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीको नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतले निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा नगरप्रमुख उदासले कन्दमुलको व्यवसायीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदर्शनीमा वडा नं १० को पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, शुभ विहानी कृषक समूह दोस्रो, वडा नं ८ को सेमेङ फलफूल तथा कृषक समूह तेस्रो भए भने वडा नं ९ को पञ्चकन्या कृषक सहकारी संस्था, वडा नं १३ को बोयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नं १४ को विहिबारे फलफूल खेती कृषक समूह सान्त्वना भएका छन् । विजेतालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १/१ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित पनि गरेको छ । सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पीताम्बर श्रेष्ठ, कृषि प्राविधिक अम्बिका राई, प्रदीप भण्डारी र दीपिका राई तथा पत्रकार किशोर बुढाथोकी, नेत्रपी अधिकारी र मोहन तामाङ रहेका छन् ।
त्रियुगाले मनायो १०औं विश्व माटो दिवस
# कृषि
गणतन्त्र खबर / उदयपुरमा ‘‘माटो र पानी जीवनको थालनी’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाईएको छ । त्रियुगा
धरान १४ नं. वडाद्वारा १ घर बराबर २ विरुवा निशुल्क वितवरण
# कृषि
गणतन्त्र खबर / स्वच्छ वातावरण रहन सहयोग पुगोस भनी धरान १४ नं. वडाले १ घर बराबर २ विरुवा निशुल्क वितवरण गरेको छ । आज दन्तकाली मा. वि. स्कुलमा १४ नं.
फेसबुकले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी गर्दै
# कृषि
गणतन्त्र खबर / विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा

प्रतिकृया दिनुहोस