• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

असार १० देखि तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिभल

गणतन्त्र खबर / धरान । धरान उपमहानगरपालिकाको संयोजन तथा संरक्षणमा धरान खेलकुद मञ्चले तेस्रो ‘धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिभल-२०८३’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी असार १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

धरान खेलकुद मञ्चले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै विद्यालयस्तरका खेलाडीलाई प्रतिस्पर्धात्मक खेलकुदमा अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

मञ्चका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा धरानका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, सितोरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबलटेनिस, सेपाकताक्रो, उसु र ब्याडमिन्टन गरी १० वटा खेल समावेश गरिएको छ ।

प्रतियोगिताअन्तर्गत कक्षा ५ र ८ का विद्यार्थीका लागि फुटबल र टेबलटेनिस प्रतियोगिता मात्र सञ्चालन गरिने जनाइएको छ । फुटबल, भलिबल र बास्केटबलमा छात्र खेलाडीको मात्र सहभागिता रहनेछ भने अन्य खेलमा छात्रा खेलाडीले पनि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

प्रतियोगिताका लागि विद्यालयहरूले तीनवटा खेलमा मात्र सहभागिता जनाए तीन हजार रुपैयाँ र तीनभन्दा बढी खेलमा सहभागिता जनाए पाँच हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार फुटबलका खेलहरू एन्फा एकेडेमी र धरान रंगशालामा सञ्चालन हुनेछन् । क्रिकेट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खेलमैदानमा हुनेछ भने भलिबल युनाइटेड गोर्खा परिसरमा खेलाइनेछ । कराते र तेक्वान्दोका प्रतिस्पर्धा धरान-१६ स्थित कवर्ड हलमा आयोजना गरिनेछन् । बास्केटबल विजयपुर इङ्लिस बोर्डिङ स्कुलमा, टेबलटेनिस धरान-९ को कवर्ड हलमा, सेपाकताक्रो डिपोट माध्यमिक विद्यालयमा, उसु धरान-९ कै कवर्ड हलमा तथा ब्याडमिन्टन अमर सेवा समाज भवनमा सञ्चालन हुने कार्यक्रम छ ।

धरान खेलकुद मञ्चले प्रतियोगिताका लागि करिब २६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । जसमा धरान उपमहानगरपालिकाबाट १३ लाख रुपैयाँ, प्रायोजकबाट ३ लाख रुपैयाँ, सहयोगदाता तथा विदेशी संघसंस्थाबाट ५ लाख रुपैयाँ र विद्यालयहरूको दर्ता शुल्कबाट ५ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रतियोगिता सञ्चालनका लागि करिब २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलमैदान मर्मत, निर्णायक तथा रेफ्री व्यवस्थापन, मेडल, ट्रफी, प्रमाणपत्र, खेल सामग्री, प्रचारप्रसार, उद्घाटन तथा समापन समारोह, टेन्ट तथा अन्य व्यवस्थापनमा उक्त रकम खर्च गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले विद्यालयस्तरको खेलकुदलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यस्ता प्रतियोगिताले बाल खेलाडीको प्रतिभा पहिचान गर्न, खेल संस्कृतिको विकास गर्न र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि तत्कालीन मेयर तारा सुब्बाको कार्यकालमा सुरु भएको स्कुल ओलम्पिक प्रतियोगिता विभिन्न कारणले केही वर्ष नियमित रूपमा सञ्चालन हुन सकेको थिएन । यसपटक पुनः प्रतियोगितालाई निरन्तरता दिँदै धरानलाई विद्यालयस्तरीय खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने प्रयास गरिएको उनले बताए ।

 

 

प्रतिकृया दिनुहोस

अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो

# खेलकुद

गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै

१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न

# खेलकुद

गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै

मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित

# खेलकुद

गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका