हरेक वर्ष उही समस्या : राजदुवाली सडकले किन पाउँदैन स्थायी समाधान ?
रोहित कुमार बस्नेत (डेविट)
गणतन्त्र खबर, श्रावण ७, धरान । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ को गोलाखर्क-राजदुवाली सडकखण्डमा हरेक वर्ष वर्षायाम सुरु हुनासाथ समस्या दोहोरिने गरेको छ । सडक भासिने, पहिरो जाने र यातायात अवरुद्ध हुने समस्या नयाँ होइन । तर वर्षौं बितिसक्दा पनि यसको स्थायी समाधान हुन सकेको छैन ।
यस वर्ष पनि निरन्तर वर्षापछि राजदुवाली सडकखण्ड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बन्द भएपछि इलाम सदरमुकामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क प्रभावित भएको छ । अत्यावश्यक सामग्री बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् भने सर्वसाधारण जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य भएका छन् ।
राजदुवाली सडक बन्द भएसँगै वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बेलासे-इलाम सडकखण्डको माइखोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएको छ । यससँगै तिल्केनी-सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ । इलाम-झापा जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलाको डाइभर्सन समेत बाढीले बगाएपछि इलाम भित्रिने र बाहिरिने मुख्य सडक अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
यातायात अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ । बजारमा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको व्यवसायीहरूले बताएका छन् । विद्युत् र खानेपानी सेवा प्रभावित हुँदा स्थानीय बासिन्दाले थप सास्ती खेपिरहेका छन् । पर्यटक आउन छाडेपछि होटल, पर्यटन तथा यातायात व्यवसाय पनि ठप्पजस्तै बनेको छ ।
यसैबीच कोशी होटल व्यवसायी महासंघ, कोशी प्रदेशले आज एक विज्ञप्ति जारी गर्दै इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र सहजीकरणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका महासचिव बासुदेव बरालले तत्काल सडक सञ्चालन, अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन, बैंकको ऋण असुली, ब्याज र घरभाडामा केही समयका लागि सहजीकरण गर्न माग गरेका छन् ।
स्थायी समाधानको माग चर्किंदै
राजदुवाली सडकको समस्या भने यस वर्ष मात्रै सुरु भएको होइन, बर्षौ अघि देखि सुरु भएको जानकारहरु बताउँछन् । गत २०८२ साल असोज १८ गतेको लगातार वर्षापछि गएको पहिरोले भने सडकखण्डमा ठूलो क्षति पुर्याएको हो । त्यतिबेला पनि सडक सञ्चालनमा ल्याउन लामो समय लागेको थियो । वर्षायाम सकिएपछि सडक खुले पनि स्थायी समाधानको काम अघि बढ्न सकेन ।
स्थानीयवासीका अनुसार यो सडकको भू-संरचना कमजोर रहेको विषय सम्बन्धित निकायलाई वर्षौंदेखि जानकारी छ । तर दीर्घकालीन योजना नबनाइँदा हरेक वर्ष वर्षायाममा उही समस्या दोहोरिने गरेको उनीहरूको गुनासो छ ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार गरिएको थियो । तर भारत सरकारले उपलब्ध गराउने बेलीब्रिजको सामग्री हालसम्म नआउँदा काम अघि बढ्न सकेको छैन ।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य छन् । यात्रुहरूले पनि अब हरेक वर्ष मर्मत गर्नेभन्दा स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
ताप्लेजुङका एक यात्रुले भने, ‘यो बाटो जति पटक मर्मत गरे पनि टिक्दैन । अब स्थायी रूपमा अर्को वैकल्पिक बाटो निर्माण गर्नुपर्छ।’
स्थानीयवासीको भनाइमा अहिलेको आवश्यकता वर्षेनी सडक मर्मत गर्नु मात्र होइन, सुरक्षित र दीर्घकालीन समाधान कार्यान्वयन गर्नु हो । वर्षा सुरु हुनेबित्तिकै सडक अवरुद्ध हुने र जनजीवन प्रभावित हुने अवस्था अन्त्य गर्न सम्बन्धित निकायले अब ठोस र दीर्घकालीन योजना अघि सार्नुपर्ने उनीहरूको माग छ ।
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात
नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण

प्रतिकृया दिनुहोस