वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात समूहले चिण्डो हटाएको घटनाप्रति विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानले गहिरो दुःख व्यक्त गरेका छन् । दुवै संस्थाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विवादलाई थप जटिल नबनाई शान्तिपूर्ण वातावरणमा समाधानको प्रक्रिया अघि बढाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिका अनुसार विजयपुर दरबार परिसरमा विकसित पछिल्लो अवस्थालाई मध्यनजर गर्दै गत साउन ३ गते सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङको सहजीकरणमा किरात राई यायोक्खासँग पहिलो चरणको वार्ता सम्पन्न भएको थियो । समितिका अनुसार वार्ता सकारात्मक वातावरणमा भए पनि विजयपुर दरबार परिसरको सेन्ट्री पोस्ट नजिक तथा समाधि क्षेत्रमा निर्माण गरिएका संरचनालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने विषयमा तत्काल सहमति हुन नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेन । यद्यपि दुवै पक्षले थप गृहकार्य गर्ने, आ-आफ्ना समितिसँग छलफल गर्ने र पुनः वार्तामा बस्ने सहमति गरेका छन् ।
यही क्रममा साउन १० गते राति विजयपुर दरबार क्षेत्रमा रहेको राई समुदायको प्रतीक चिण्डो अज्ञात समूहले उखालेर फालेको घटनाप्रति दुवै संस्थाले गम्भीर चासो व्यक्त गरेका छन् । संघर्ष समितिले उक्त घटनाले विवादलाई थप जटिल बनाउन सक्ने जनाएको छ भने किरात याक्थुङ चुम्लुङ धरानले टुङ्गिन लागेको वार्तालाई बिथोल्ने र विफल बनाउने नियत हुन सक्ने आशंका व्यक्त गरेको छ ।
दुवै संस्थाले आफ्नो विज्ञप्तिमार्फत विवादको समाधान सडक संघर्ष, उत्तेजना वा एकपक्षीय गतिविधिबाट सम्भव नहुने स्पष्ट गर्दै वार्ता, संवाद र आपसी समझदारी नै स्थायी समाधानको आधार भएको बताएका छन् । उनीहरूले कुनै पनि उक्साहटपूर्ण, उत्तेजनात्मक वा सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न नहुन सबै पक्षसँग आग्रह गरेका छन् ।
विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले आन्दोलनलाई निराधार आरोप लगाएर बदनाम गराउने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै ऐतिहासिक पहिचान र सम्पदा संरक्षणका लागि सुरु भएको अभियानलाई मुठभेडको अवस्थातर्फ नधकेल्न आग्रह गरेको छ । यस्तै, किरात याक्थुङ चुम्लुङ धरानले पनि घटनालाई अतिरञ्जित गरी समुदायबीचको आपसी भाइचारा र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सबैलाई अपिल गरेको छ ।
संघर्ष समितिले विजयपुर दरबार परिसरको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्दै यसलाई राष्ट्रिय सम्पदाका साथै भविष्यमा विश्व सम्पदाका रूपमा विकास गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने धारणा व्यक्त गरेको छ । किरात याक्थुङ चुम्लुङ धरानले पनि ऐतिहासिक संवेदनशीलतालाई सम्मान गर्दै संवाद र सहकार्यबाटै विवादको समाधान खोज्नुपर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
दुवै संस्थाका विज्ञप्तिको मूल सन्देश एउटै छ-विजयपुर दरबार परिसरसँग जोडिएको विषय ऐतिहासिक, सांस्कृतिक र संवेदनशील भएकाले यसलाई टकराव वा आरोप-प्रत्यारोपबाट होइन, वार्ता, संवाद, आपसी सम्मान र सहमतिका आधारमा समाधान गर्नुपर्छ । साथै, वार्ताको सकारात्मक वातावरणलाई प्रभावित पार्ने कुनै पनि गतिविधिबाट टाढा रही विजयपुर दरबार परिसरको ऐतिहासिक पहिचान, सांस्कृतिक महत्व र सामाजिक सद्भाव जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा दुवै संस्थाले जोड दिएका छन् ।
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण
बीपी स्मृति दिवसमा कविता प्रतियोगिता, तमन्ना भईन प्रथम
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण १०, धरान । धरानमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल धरान-१२ की

प्रतिकृया दिनुहोस