• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग

गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक प्रतीक चिण्डो अज्ञात समूहले उखालेपछि घटनाले नयाँ मोड लिएको छ । घटनापछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन् भने किरात राई यायोक्खा जिल्ला कार्य समिति, सुनसरीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको छ ।

विजयपुर दरबार परिसर लामो समयदेखि ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्व बोकेको स्थलका रूपमा परिचित छ । सोही मुख्य स्थानमा किरात याक्थुङ चुम्लुङ (लिम्बु समुदाय)ले आफ्नो धार्मिक आस्थाअनुसार देवीदेवताको पूजा गर्दै आएका थिए भने त्यहाँ उनीहरूको सांस्कृतिक प्रतीक सिलामसाक्मा पनि स्थापना गरिएको थियो । त्यसै स्थानमा करिब चार वर्षअघि देखि किरात राई यायोक्खाले पनि आफ्नो सांस्कृतिक प्रतीकका रूपमा चिण्डो स्थापना गरेको थियो ।

यही विषयलाई लिएर पछिल्ला केही महिनादेखि विवाद चर्किएको थियो । विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र किरात याक्थुङ चुम्लुङले ऐतिहासिक दरबार परिसरको मौलिक स्वरूप जोगाउनुपर्ने, सेन्ट्री पोस्ट र समाधि क्षेत्र आसपास निर्माण गरिएका संरचना तथा राखिएका केही सांस्कृतिक सामग्री उपयुक्त स्थानमा स्थानान्तरण गरिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए । त्यसै विषयमा समाधान खोज्न संघर्ष समिति गठन गरी आन्दोलनसमेत भइरहेको थियो ।

वार्ताबाट समाधान खोज्ने प्रयास

विवाद बढ्न थालेपछि समाधानका लागि संवादको बाटो रोजिएको थियो । गत साउन ३ गते सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङको सहजीकरणमा विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र किरात राई यायोक्खाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको थियो । वार्ता सकारात्मक वातावरणमा भए पनि संरचना तथा सांस्कृतिक सामग्री स्थानान्तरणको विषयमा तत्काल सहमति जुट्न सकेन । यद्यपि दुवै पक्षले थप गृहकार्य गरी पुनः वार्तामा बस्ने सहमति गरेका थिए ।

तर वार्ताको प्रक्रिया जारी रहेका बेला साउन ११ गते राति विजयपुर दरबार परिसरमा राखिएका राई समुदायका चिण्डो अज्ञात समूहले उखालेको घटना सार्वजनिक भयो । घटनाले समाधानको दिशामा अघि बढिरहेको संवाद प्रक्रियामै नयाँ प्रश्न खडा गरेको छ ।

घटनापछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै चिण्डो उखालिएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । समितिले यस्ता गतिविधिले विवादलाई थप जटिल बनाउन सक्ने जनाउँदै सबै पक्षलाई संयमता अपनाउन र कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ । समितिले सुरुदेखि नै वार्ता, संवाद र आपसी समझदारीबाट समाधान खोज्ने पक्षमा रहेको दोहोर्‍याउँदै आन्दोलनलाई बदनाम गर्ने वा मुठभेडतर्फ धकेल्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

यस्तै, किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै चिण्डो उखालिएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले वार्ता र संवादबाट समाधान खोज्ने प्रयास भइरहेका बेला भएको उक्त घटनाले वार्तालाई बिथोल्ने र समाधान प्रक्रियालाई प्रभावित पार्न सक्ने चिन्ता व्यक्त गरेको छ । साथै घटनालाई अतिरञ्जित गरी समुदायबीचको आपसी सद्भाव र भाइचारा बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै संवादमार्फत समाधान खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

किरात राई यायोक्खा प्रहरीमा निवेदन 

यसैबीच, किरात राई यायोक्खा जिल्ला कार्य समिति, सुनसरीले भने घटनालाई कानुनी प्रक्रियामा लैजाँदै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको छ । अध्यक्ष राजेन्द्र राई र सचिव शम्भु राई (पृथक)द्वारा हस्ताक्षरित निवेदनमा विजयपुर गढी परिसरमा चार किरातजन्य संस्थाबीच आपसी सहमतिमा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने सामग्री राखिएको उल्लेख गर्दै करिब चार वर्षअघि स्थापना गरिएको राई समुदायको सांस्कृतिक प्रतीक चिण्डो तोडफोड गरी उखालिएको दाबी गरिएको छ ।

निवेदनमा पछिल्ला केही सातादेखि चिण्डो हटाउन सार्वजनिक रूपमा दबाब सिर्जना गरिएको र अन्ततः अज्ञात व्यक्तिबाट तोडफोड भएको उल्लेख गर्दै घटनाले राई समुदायको धार्मिक तथा सांस्कृतिक आस्थामा चोट पुगेको दाबी गरिएको छ । साथै घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषी उपर कानुनबमोजिम कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरिएको छ ।

हालसम्म चिण्डो उखाल्ने व्यक्तिको पहिचान सार्वजनिक भएको छैन । घटनामा कसको संलग्नता थियो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको छ ।

यद्यपि घटनापछि सार्वजनिक भएका धारणा हेर्दा एउटा कुरा भने स्पष्ट देखिन्छ । विवादका कारण वार्ता अवरुद्ध हुन नदिनुपर्नेमा सबै सरोकारवालाले जोड दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र किरात याक्थुङ चुम्लुङले संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् भने किरात राई यायोक्खाले घटनाको कानुनी अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

 

प्रतिकृया दिनुहोस

वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात

नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण

बीपी स्मृति दिवसमा कविता प्रतियोगिता, तमन्ना भईन प्रथम

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण १०, धरान । धरानमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल धरान-१२ की