• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि ६ अर्बको कोशी खानेपानी आयोजना अघि बढ्दै

गणतन्त्र खवर, श्रावण ८, धरान । धरान उपमहानगरपालिकाको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित करिब ६ अर्ब रुपैयाँ लागतको कोशी खानेपानी आयोजना अघि बढ्ने भएको छ । आयोजनाको अन्तिम तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकायका उच्च अधिकारीहरू धरान आएर स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर तथा शहरी खानेपानी क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय इटहरीका अधिकारीहरू आयोजनाको प्राविधिक पक्ष र पूर्वाधारको स्थलगत अध्ययनका लागि धरान आएको जानकारी दिए ।

उनका अनुसार आयोजना करिब ६ अर्ब रुपैयाँ लागतको हुनेछ । यसअघि तयार गरिएको डिपिआर अनुसार अनुसार कोशी नदीबाट धरानसम्म पानी ल्याउन करिब ४ अर्ब रुपैयाँ तथा नगरका विभिन्न वडामा खानेपानी वितरण प्रणाली विस्तार गर्न थप २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालन हुने परियोजना हो । नगरपालिकाले आयोजना सफल बनाउन प्रतिबद्धता जनाएको भए पनि खानेपानी व्यवस्थापनको लागि यसअघि नै एडिबीको ऋण रहेकाले यस परियोजनालाई शतप्रतिशत अनुदानमा कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

कार्यवाहक प्रमुख बेघाले भने, ‘धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न हामी सकारात्मक छौं । तर धरानमा यसअघि नै एडिबीको ऋण रहेकाले यो आयोजना शतप्रतिशत अनुदानमा कार्यान्वयन होस् भन्ने हाम्रो जोडदार माग छ । त्यसका लागि हामीले आयोजनालाई सहयोग गर्न ३ करोड रुपैयाँ छुट्याएर पनि राखेका छौं ।’

यद्धपी एडिबी अन्तरगतको यो प्रोजेक्ट मोडेल अनुसार आयोजनाको कुल लागतको ८० प्रतिशत रकम अनुदानका रूपमा उपलब्ध हुनेछ भने बाँकी २० प्रतिशतमध्ये १५ प्रतिशत नगर विकास कोष (टिडिएफ) मार्फत ऋण लिनुपर्ने र ५ प्रतिशत धरान उपमहानगरपालिकाले व्यहोर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागका समित कुमार यादवले संघीय सरकारले आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए । उनका अनुसार यसअघि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि अब चतरा क्षेत्रको स्थलगत अध्ययन गरी डीपीआरलाई अन्तिम रूप दिइनेछ ।

‘पहिले फिल्ड भेरिफिकेसन हुन्छ, त्यसपछि डिजाइन अन्तिम रूप दिइन्छ र त्यसपछि निर्माण प्रक्रियाका अन्य काम अघि बढ्छन्,’ यादवले भने ।

यो परियोजना अघिल्लो वर्ष पनि धरानका लागि प्रस्ताव गरिएको थियो । तर एडिबी ऋणका कारण नगरको आर्थिक दायित्व थप बढ्ने भन्दै तत्कालीन नगरप्रमुख हर्कराज राईले शतप्रतिशत अनुदान नभएसम्म आयोजना स्वीकार नगर्ने अडान लिएका थिए । त्यसपछि प्रस्तावित आयोजना कार्यान्वयनमा जान सकेको थिएन ।

हाल भने कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघासहित सिंगो नगर कार्यपालिका आयोजना धरानमा भित्र्याउने पक्षमा एकमत देखिएको छ । साथै, नगरले यस परियोजनालाई शतप्रतिशत अनुदानमा कार्यान्वयन गराउन संघीय सरकारसँग आवश्यक पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

यो आयोजना किन आवश्यक छ ?

धरानमा हाल दैनिक खानेपानीको माग उत्पादनभन्दा धेरै रहेको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका अनुसार भूमिगत तथा सतही स्रोतबाट दैनिक करिब २ करोड ३६ लाख लिटर पानी उत्पादन तथा संकलन भइरहेको छ भने दैनिक आवश्यकता ३ करोड लिटरभन्दा बढी रहेको छ । अर्थात् दैनिक करिब ६४ लाख लिटर पानीको अभाव छ ।

हाल उदय वन, चारकोसे क्षेत्र तथा प्रदेश सरकारले निर्माण गरेका वेलमार्फत १ करोड ७० लाख लिटर प्रति दैनिक भूमिगत पानी उत्पादन भइरहेको छ भने सर्दु-खर्दु, कोकाह, निसाने, भालुखोला, पकुवा खोला तथा अन्य सतही स्रोतबाट ५९ लाख लिटर प्रति दैनिक पानी संकलन गरिँदै आएको छ ।

स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित तत्कालीन नगरप्रमुख हर्कराज राईको श्रमदान अभियान तथा स्वदेश-विदेशमा रहेका धरानेहरूको आर्थिक सहयोगमा सर्दु-खर्दु, कोकाहलगायत सतही स्रोतबाट संकलित थप पानीले केही हदसम्म कम भए पनि धरानको बढ्दो जनसंख्या र मागअनुसार त्यो पर्याप्त हुन सकेन ।

यसै कारण कोशी नदीबाट स्थायी रूपमा पानी ल्याउने आयोजना धरानको दीर्घकालीन खानेपानी समस्याको सबैभन्दा ठूलो समाधानका रूपमा हेरिएको छ । आयोजना समयमै कार्यान्वयनमा आए धरानका हजारौं उपभोक्ताले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक

वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात

नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण