विजयपुर गढीको विवादित सन्दर्भमा मन्त्रीको मौनता, प्राथमिकतामा पर्यटन पूर्वाधार
रोहित कुमार बस्नेत (डेविट)
गणतन्त्र खबर, श्रावण ९, धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) शनिबार धरानका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गरे । उनले विष्णुपादुका मन्दिर, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर महादेव, पञ्चकन्या मन्दिरसँगै पछिल्लो समय चर्चामा रहेको ऐतिहासिक विजयपुर गढीको समेत भ्रमण गरे ।
तर, मन्त्रीको यो भ्रमणमा सबैभन्दा बढी चासोको विषय उनी विजयपुर गढी पुगेर के बोल्छन् भन्ने थियो । कारण, पछिल्ला केही सातादेखि विजयपुर गढी ऐतिहासिक तथा सांस्कृतिक पहिचानको विषयमा सार्वजनिक बहसको केन्द्र बनेको छ । तर मन्त्रीले त्यसबारे कुनै प्रतिक्रिया दिएनन् । उनले आफ्नो सम्पूर्ण धारणा पर्यटन विकास, पूर्वाधार निर्माण र गन्तव्यहरूलाई जोड्ने योजनामै केन्द्रित रहेको व्यक्त गरे ।
धरान-१६ स्थित आदिवासी जनजाति सङ्ग्रहालय पुगेर सम्वोधन गरेका मन्त्री पौडेलले कोशी प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थललाई एउटै पर्यटन सर्किटमा जोड्ने योजना रहेको बताएका छन् । त्यसका लागि सम्बन्धित स्थानमै पुगेर समस्या पहिचान गर्ने, समाधानका उपाय खोज्ने र पर्यटक आकर्षित गर्ने नयाँ पर्यटन प्याकेज तयार गर्ने काम भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘एउटा गाउँलाई अर्को गाउँसँग बाटोले जोड्दा भौगोलिक दूरी मात्र घट्दैन, मानिसको मन पनि जोडिन्छ । सामाजिक सम्बन्ध बलियो हुन्छ । व्यापार बढ्छ । त्यसैले अहिले सबैभन्दा ठूलो आवश्यकता कनेक्टिभिटी र पूर्वाधार विकास हो ।’ मन्त्रीको भनाइबाट सरकारको ध्यान अहिले पर्यटन पूर्वाधार विस्तार र गन्तव्य विकासमा केन्द्रित रहेको देखिन्छ ।
विजयपुरको बहस र मन्त्रीको मौनता
मन्त्री पौडेलले भ्रमण गरेको विजयपुर गढी अहिले ऐतिहासिक बहसको विषय बनेको छ ।
गत जेठ २० गते किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै विजयपुर दरबार क्षेत्र आसपास रहेका २४ भन्दा बढी पुराना समाधिस्थल भत्काइएको भन्दै विरोध जनाएको थियो । समितिले ती समाधिस्थल लिम्बू समुदायसँग सम्बन्धित रहेको दाबी गर्दै घटनाले समुदायको इतिहास, पहिचान र भावनामाथि चोट पुगेको जनाएको थियो ।
त्यसपछि विजयपुर गढीको ऐतिहासिक अपनत्वबारे सामाजिक सञ्जालमा बहस सुरु भयो । विशेषगरी किरात राई र लिम्बू समुदायका व्यक्तिहरूले आ-आफ्नो ऐतिहासिक बुझाइ सार्वजनिक गर्न थाले । यस विषयमा सम्बन्धित संस्थाबीच संवाद भइरहेको चर्चा भए पनि अहिलेसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन ।
यसबीच विजयपुर दरबार संरक्षण सङ्घर्ष समितिले पनि संरक्षणका गतिविधि अघि बढाइरहेको छ । साउन २ गते सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो भने साउन २२ गते संरक्षणको विषयमा राजनीतिक नेतृत्वसहित वृहत् कार्यक्रम गर्ने तयारी पनि गरिएको छ । प्रतिनिधिसभामा समेत मोरङ-१ का सांसद यज्ञमणि न्यौपानेले विजयपुर दरबारको संरक्षणको विषयमा उठान गरिसकेका छन् ।
विकास र संवेदनशीलता सँगसँगै
प्रतिनिधिसभामा समेत विजयपुर दरबारको संरक्षणको विषय उठिसकेको पृष्ठभूमिमा मन्त्री पौडेल विजयपुर पुगेका हुन् । त्यसैले सञ्चारकर्मी र स्थानीयको चासो पनि उनी यस विवादबारे के बोल्छन् भन्नेमा थियो । तर उनले विवाद, ऐतिहासिक दाबी वा समुदायबीच देखिएको मतभेदबारे केही बोलेनन् । उनले पर्यटन, पूर्वाधार र कनेक्टिभिटीबारे मात्रै धारणा राखे ।
मन्त्रीको मौनतालाई विभिन्न रूपमा हेर्न सकिन्छ । सरकारले अहिले पर्यटन विकासलाई प्राथमिकतामा राखेको हुन सक्छ । अर्कोतर्फ, समुदायबीच बहस चलिरहेका बेला कुनै पक्षमा टिप्पणी गर्नुभन्दा अध्ययन र संवादलाई नै पर्खने नीति पनि हुन सक्छ । यद्यपि यसको कारण मन्त्रीले स्पष्ट पारेका छैनन् ।
एउटा कुरा भने स्पष्ट देखिन्छ कि सरकारले विजयपुरलाई पर्यटनको सम्भावना भएको महत्वपूर्ण गन्तव्यका रूपमा अघि बढाउन चाहेको छ । तर त्यही ठाउँसँग जोडिएको इतिहास, सांस्कृतिक पहिचान र विभिन्न समुदायका दाबी भने अझै संवाद र अध्ययनकै विषय बनेका छन् ।
त्यसैले विजयपुरको भविष्य केवल सडक, पूर्वाधार र पर्यटन योजनाले मात्रै तय हुने देखिँदैन । त्यहाँको इतिहास, पुरातात्त्विक तथ्य र स्थानीय समुदायको विश्वासलाई पनि समान रूपमा सम्मान गर्न सके मात्रै विकास र संरक्षण दुवै सँगसँगै अघि बढ्न सक्ने देखिन्छ ।
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात
नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण

प्रतिकृया दिनुहोस